पक्राउ परेकाहरूबाट बरामद गरिएको गरगहना, मोबाइल र नगद
१९ साउन, काठमाडौं । सप्तरी सुरुङ्गा नगरपालिका-८ मलहनमा करिब दुई महिनाअघि भएको हत्या र डाँका घटनाका ९ संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ ।करिब दुई महिनाको लामो अनुसन्धानपछि सप्तरी प्रहरीले ९ जनालाई पक्राउ गरेको हो । महनटोलका घरधनी ५० वर्षीय कन्तलाल चौधरीको हत्यापछि लुटपाट गरेर फरार भएको डाँका समूह दुई महिनापछि पक्राउ परेको छ ।पक्राउ पर्नेहरूमा सुरुङ्गा-८ कै २७ वर्षीय राजेशकुमार चौधरी, सोही ठाउँका २८ वर्षीय सञ्जय मरिक, बोदेबसाइन नगरपालिका-२ का २० वर्षीय दिपेन मरिक, खडक नगरपालिका-११ का ३४ वर्षीय हरिकिसनु मरिक, शम्भुनाथ नगरपालिका-८ का २४ वर्षीय दीपक मरिक, उदयपुरको बेलका नगरपालिका-१ का २८ वर्षीय चन्दर मरिक, सुरुङ्गा नगरपालिका-७ का ३३ वर्षीय राजकुमार विक, लहान नगरपालिका-६ का ५२ वर्षीय महेन्द्र गोड्से र लहान-८ का ३८ वर्षीय उमेश साह सोनार छन् ।यो समूहले कन्तलालको हत्या गर्दै २३ जेठ राति १ बजेतिर लुटपाट गरेको थियो । उनको घरबाट सुनचाँदीका गरगहना लुटिएको थियो ।डाँका गर्न आएपछि कन्तलालले थाहा पाएका थिए । त्यसपछि धारिलो हतियार प्रहार गरी घाइते बनाएर गोली हानी उनको हत्या गरिएको थियो ।दाजुको घरमा होहल्ला भएको सुनेपछि भाइ रामाकान्त आएका थिए । उनीमाथि पनि डाँका समूहले टाउको र ढाडमा धारिलो हतियार प्रहार गरेको थियो ।त्यसपछि डाँका समूहले पाँच तोला सुन, दुई केजी चाँदी र नगदसमेत लुटपाट गरी फरार भएको थियो ।डाँका समूहले आक्रमण गरेको जानकारी प्रहरी चौकी धातीबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा एक टोली घटनास्थल पुगेको थियो ।त्यसपछि इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी निरीक्षकको कमान्डमा ९ जनाको टोली पनि घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो । तर लामो समयसम्म हत्यारा र लुटेरा पहिचान भएको थिएन ।लामो अनुसन्धानपछि सबुदसहित ९ जनालाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता तथा डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए । त्यतिबेला घटनास्थलमा प्रहरीले नपड्किएको ३ राउन्ड गोली र १ राउन्ड गोलीको खोकासमेत फेला पारेको थियो ।
पोल खुल्ने डरले हत्या
कन्तलालको हत्या पोल खुल्ने डरले लुटेरा समूहले गरेको पाइएको डीएसपी बस्नेतले बताए । उनका अनुसार मृतक कन्तलाल र डकैती गर्न आएका केही व्यक्ति भने वरपरका चिनजानकै मान्छे थिए ।नकावसहित डाँका गर्न आएको समूहलाई कन्तलालले चिनेको र यसबारे प्रहरीलाई खबर गरिदिने समेत बताएको प्रहरी अधिकारी बताउँछन् । यो सबै कुरा उनकी श्रीमतीले पनि सुनेपछि डाँका समूहले कन्तलालको हत्या गरेको डीएसपी बस्नेतको भनाइ छ ।चिनेकै समूह डाँका गर्न गएको रहेछ । घरधनीले चिनेपछि पोल खुल्ने डरले हत्या भएको देखिन्छ,’ बस्नेतले भने ।
पक्राउ गरेर छाडिएका व्यक्ति नै अभियुक्त
यो घटनामा प्रहरीले यसअघि पक्राउ गरेर छाडेका व्यक्ति नै अभियुक्त रहेको पाइएको छ । प्रहरीले यसअघि राजेशकुमार मरिकलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । तर उनी छाडिए । अहिले भने उनै मरिकसहित ९ जना पक्राउ परेका छन् ।‘त्यतिबेला केही शंका लागेर सोधपुछका लागि पक्राउ गरेका थियौं । तर हामीसँग प्रमाण केही थिएन । त्यसपछि उनलाई छाड्यौं । अहिले भने उनी स्वयं घटनामा संलग्न रहेको पाइएपछि पक्राउ गरेका छौं,’ डीएसपी बस्नेतले अनलाइनखबरसँग भने ।हत्यापछि यो समूह प्रहरीले थाहा पाउला भनेर झनै कतै नभागी घरमै बसेको पाइएको छ । राजेश कुमार पनि घरमै थिए । अन्य व्यक्ति अहिले सप्तरीमै रहेको अवस्थामा पक्राउ परेका हुन् ।
अनि खुल्यो पोल…हत्या र डाँकाको अनुसन्धानमा खटिएको प्रहरीले एउटा सूचना पायो- सुरुङ्गाको पोखरिया बसनपट्टी बस्ने राजुकुमार विश्वकर्माले डाँका तथा चोरीका सरसामानहरू किनेर बेच्ने काम गर्छन् । त्यसपछि उनीमाथि प्रहरीले विशेष निगरानी बढाएको थियो ।१६ साउन दिउँसो प्रहरीले सोधपुछका लागि भन्दै राजुकुमारलाई नियन्त्रणमा लियो । उनको घर-कोठा खानतलासी गर्दा प्रहरीले पूर्वसूचना पाएजस्तै सुन चाँदीका गरगहना, भारतीय र नेपाली नोटहरू फेला परे ।यस विषयमा थप सोधपुछ गर्दै अनुसन्धान गर्ने क्रममा डाँका र हत्या घटनामा संलग्नहरूको पहिचान हुन सफल भएको एक अनुसन्धान अधिकृतले बताए ।विश्वकर्माले यी गरगहना अहिले पक्राउ परेका व्यक्तिहरूबाट खरिद गरेको बयान दिएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।राजुकुमारको कोठाबाट बरामद भएका गरगहनाहरू कन्तलालकी श्रीमती लराइन देवी र छोरा नन्द किशोरले आफूहरूको हो भन्दै सनाखत गरेपछि प्रहरी झनै ढुक्क भएको थियो ।आफूले लिएका गरगहनामध्ये केही भने लहानमा रहेको महेन्द्र गोड्सेले सञ्चालन गरको ऋधा सुनचाँदी पसलमा लगेर गलाउन दिएको बताएका थिए । त्यसपछि प्रहरीले गोड्सेलाई पनि पक्राउ गरेको हो ।यसरी गलाइसकेपछि उक्त सामान लहानमै उमेश साह सोनारले सञ्चालन गरेको ओम ज्वेलर्समा लगेर बेचेको पाएपछि उमेश साहलाई पनि प्रहरीले पक्राउ गरेको छ ।डाँका गरेर लगिएका गरगहनासहित प्रहरीले यो समूहबाट कटुवा पेस्तोल, गोली २ राउन्ड र खुकुरीसमेत बरामद गरेको छ ।पक्राउ परेकाहरूविरुद्ध कर्तव्य ज्यानका साँथै डाँकाको कसुरमा पनि अनुसन्धान अघि बढाइएको