चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये अझै १०० जना फरार रहेका छन् । फरारमध्ये ११ जना भारतीय नागरिकसमेत रहेको कारागार प्रशासनले जनाएको छ । गम्भीर प्रकृतिका अपराधमा सजाय भोगिरहेका कैदीबन्दीसमेत फरार रहेकाले स्थानीय सुरक्षा र सम्भावित आपराधिक घटनाप्रति चिन्ता बढेको छ।
कारागार कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार गत भदौ २४ गते चितवन कारागारबाट चार जना नाबालकसहित कुल ७४३ जना कैदीबन्दी भागेका थिए। घटनापछि प्रहरी तथा कारागार प्रशासनले व्यापक खोजी अभियान सञ्चालन गरे पनि अझै सय जना सम्पर्कमा नआएको उनले बताए।
ढुङ्गानाका अनुसार भागेका कैदीबन्दीमध्ये ६४३ जना भने फर्किसकेका छन्। तीमध्ये केही कैदीबन्दी आफैँ कारागारमा उपस्थित भएका छन् भने केहीलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी पुनः कारागार ल्याएको हो। “हामीले धेरैलाई नियन्त्रणमा ल्याइसकेका छौँ, तर अझै १०० जना फरार छन्,” उनले भने, “तीमध्ये केही गम्भीर प्रकृतिका अपराधमा संलग्न भएकाले समाजमा आपराधिक गतिविधि बढ्न सक्ने जोखिमप्रति हामी सचेत छौँ।”
कारागार प्रशासनले फरार कैदीबन्दीलाई स्वेच्छाले सम्पर्कमा आउन आग्रह गर्दै गत असोज २० गतेसम्मको समयसीमा तोकेको थियो। सो अवधिसम्म कारागार कार्यालयमा उपस्थित भई कानुनी प्रक्रिया पूरा गर्न आग्रह गरिएको भए पनि बाँकी कैदीबन्दी सम्पर्कमा नआएको कार्यालयले जनाएको छ।
कारागारले जारी गरेको सूचनामा तोकिएको समयभित्र सम्पर्कमा नआएमा कारागार ऐन २०७९ तथा प्रचलित कानुन अनुसार थप कानुनी कारबाही गरिने उल्लेख गरिएको छ। साथै फरार कैदीबन्दीलाई लुकाउने, आश्रय दिने वा सहयोग गर्ने व्यक्तिलाई समेत कानुनी रूपमा कसुरदार ठहर गरी कारबाही गरिने चेतावनी दिइएको छ।
प्रमुख ढुङ्गानाले फरार कैदीबन्दीलाई पक्राउ गर्न नेपाल प्रहरीसँग सहकार्य भइरहेको जानकारी दिए। उनका अनुसार विभिन्न जिल्लामा सम्भावित स्थानहरू पहिचान गरी खोजी कार्य जारी राखिएको छ। सीमावर्ती क्षेत्रहरूमा पनि विशेष निगरानी बढाइएको छ, विशेष गरी भारतीय नागरिकहरू फरार रहेकाले सीमापार भाग्ने सम्भावना समेतलाई ध्यानमा राखिएको उनले बताए।
“हामीले सुरक्षा निकायसँग समन्वय गरेर खोजी अभियान तीव्र बनाएका छौँ,” उनले भने, “फरार कैदीबन्दीलाई चाँडै नियन्त्रणमा ल्याउन प्रहरी टोली निरन्तर परिचालन गरिएको छ।”
यस घटनाले कारागार व्यवस्थापन, सुरक्षा प्रणाली र कैदीबन्दी व्यवस्थापनको अवस्थाबारे पनि प्रश्न उठाएको छ। एकै पटक ठूलो संख्यामा कैदीबन्दी भाग्न सफल हुनु कारागार सुरक्षा व्यवस्थाको कमजोरीसँग जोडेर हेरिएको छ। यस विषयमा आन्तरिक अनुसन्धानसमेत भइरहेको जनाइएको छ।
स्थानीयवासीहरूले पनि गम्भीर अपराधमा संलग्न कैदीबन्दी फरार रहेकाले सुरक्षा चुनौती बढेको बताएका छन्। विशेष गरी रातिको समयमा चोरी, लुटपाट वा अन्य आपराधिक गतिविधि हुन सक्ने त्रासले समुदायमा चिन्ता बढेको उनीहरूको भनाइ छ।
सुरक्षा निकायले भने नागरिकलाई सतर्क रहन र कुनै शंकास्पद गतिविधि वा फरार कैदीबन्दीबारे जानकारी पाएमा नजिकको प्रहरी कार्यालयमा तुरुन्त खबर गर्न आग्रह गरेको छ।
यसबीच हाल चितवन कारागारमा ३८ जना महिलासहित कुल ६८५ जना कैदीबन्दी रहेका छन्। कारागार प्रशासनले सुरक्षा व्यवस्था थप कडा बनाइएको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायहरू अघि बढाइएको जनाएको छ।
फरार कैदीबन्दीको खोजी जारी रहँदा सुरक्षा निकायका लागि उनीहरूलाई छिटोभन्दा छिटो नियन्त्रणमा ल्याउनु अहिलेको प्रमुख चुनौती बनेको छ। साथै कारागार प्रणालीको प्रभावकारिता र सुरक्षाबारे पनि व्यापक बहस सुरु भएको छ।
प्रतिक्रिया लेख्नुहोस्




