वीरगञ्ज, कार्तिक १३ । जल तथा मौसम विभागको चेतावनीपछि मधेस प्रदेश सरकार आगामी तीन दिनका लागि उच्च सतर्कतामा रहेको छ। बिहीबारदेखि शनिबारसम्म प्रदेशभर मध्यमदेखि अति भारी वर्षाको सम्भावना रहेकाले जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सर्न प्रदेश सरकारले आग्रह गरेको छ।
बुधबार गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा बसेको प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले तीनै वटै सुरक्षा निकायलाई ‘अलर्ट’ मा बस्न निर्देशन दिएका छन्।
बैठकले बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ बिहीबार दिउँसो नेपाल प्रवेश गर्ने भएकाले त्यसको प्रभावबाट जोगिन सर्वसाधारणलाई सचेत रहन अपिल गरेको हो। मुख्यमन्त्री सोनलले प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरणका लागि सबै उपलब्ध जनशक्ति परिचालन गर्ने र आवश्यक तयारी पूरा गरेको जानकारी दिए।
उनका अनुसार बागमती, रातो, लखनदेही, कमला र सप्तकोशी नदी आसपासका बस्तीहरू बढी जोखिममा रहेका छन्। नदी किनारका क्षेत्रहरूमा बाढी र डुबानको उच्च जोखिम रहेकाले त्यहाँका नागरिकलाई उच्च स्थानमा रहेका सार्वजनिक भवन वा सुरक्षित क्षेत्रतर्फ सार्न आग्रह गरिएको छ।
मुख्यमन्त्री सोनलले किसानहरूलाई पनि धान काट्ने काम केही दिनका लागि रोक्न र काटिसकेको भए तत्काल भित्र्याउन आग्रह गरे।
“नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका विपद् उद्धार टोली तयारी अवस्थामा छन्। आवश्यक पर्ने डुंगा र लाइफ ज्याकेट पनि तयारी अवस्थामा राखिएका छन्,” उनले भने, “संघ र स्थानीय सरकारसँग निरन्तर समन्वय भइरहेको छ।”
मुख्यमन्त्री सोनलले गैर–सरकारी संस्थाहरूलाई पनि आफ्ना स्रोत र जनशक्ति परिचालन गरी जनचेतना र सहयोगमा जुट्न आह्वान गरे।





