spot_img

गृहमन्त्री गुरुङले लुकाए सेयर, स्पष्टीकरणमा पनि बोले झुट

पढ्न छुटाउनुभयो ?

७ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जति सम्पत्ति सार्वजनिक गरे, त्यो नै विवादास्पद बन्यो । सयौं रोपनी जग्गा उनले आफ्नो सम्पत्तिमा देखाएका छन्, जुन हदबन्दीभन्दा बढी छ । हदबन्दीभन्दा बढी जग्गा राज्यले अधिग्रहण गर्नुपर्नेमा त्यो किन भएन भन्ने प्रश्न छँदैछ ।

उनले सम्पत्तिमा देखाएको ८९ तोला सुन, ६ किलो चाँदी र विभिन्न कम्पनीमा रहेका करोडौंको सेयर खरिदको स्रोत पनि पारदर्शी रूपमा उल्लेख गरेका छैनन् ।

उनले त्यति धेरै सम्पत्ति व्यवसाय, पैतृक सम्पत्ति र लगानीबाट आर्जित भनेर ‘लम्पसम’ (एकमुष्ट) मा लेखेका छन्, स्रोत देखिने स्पष्ट विवरण सार्वजनिक गरेका छैनन् ।

उनले दुई वटा  माइक्रो इन्स्योरेन्स कम्पनीमा थप ५० लाख रुपैयाँका ५० हजार कित्ता संस्थापक सेयर खरिद गरेको पनि खुलेको छ । त्यसलाई उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छैनन् ।

सार्वजनिक ओहदामा भएका गृहमन्त्री गुरुङले लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्समा भएको २५ हजार कित्ता र स्टार माइक्रोइन्स्योरेन्स कम्पनीको २५ हजार कित्ता सेयर आफ्नो सम्पत्ति विवरणमा उल्लेख नगर्नुले उनीमाथि नैतिक र कानुनी प्रश्न उठेका छन् ।

गृहमन्त्री गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरणमा २ करोड ७४ लाख रुपैयाँ बराबरको लगानी धितोपत्रको दोस्रो बजारमा कारोबार हुने कम्पनीको सेयर रहेको उल्लेख गरेका छन् । जबकि, उनले ती सेयर कुन कम्पनीका हुन् भन्ने उल्लेख गरेका छैनन् ।

आफ्नो स्वामित्वमा भएको सेयर विवरण सार्वजनिक नगर्दा मन्त्री गुरुङमाथि उठेको प्रश्नबारे सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारका तर्फबाट औपचारिक प्रतिक्रिया आएका छैनन् ।

अनलाइनखबरले यसबारे बुझ्न सरकारका प्रवक्ता सस्मित पोखरेल तथा रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रवक्ता मनिष झासँग सम्पर्क गरको थियो । तर उनीहरूले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्ड सदस्यमा नियुक्ति दिलाएको विषय उठेपछि श्रममन्त्री दीपक साहलाई तुरुन्तै हटाएका प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री गुरुङको सेयर कारोबारको विषयलाई कसरी लिन्छन्, चासोको विषय बनेको छ ।

कुनै सम्पत्ति वा सेयर किन्नु, त्यसको स्वामित्व धारण गर्नु वा बेच्नु आफैंमा गैरकानुनी होइन । तर ती सम्पत्ति किन्दा, स्वामित्वमा राख्दा वा बिक्री गर्दा कानुनी प्रक्रिया पूरा गरिएको छ कि छैन, त्यो सम्पत्ति किन्ने स्रोत कानुनी हो कि होइन भन्ने चाहिँ मुख्य प्रश्न हो । सार्वजनिक पदमा रहेका व्यक्तिले कानुनत: घोषणा गर्नुपर्ने थियो ।

पहिलो, गुरुङले गृहमन्त्री पद सम्हालेपछि दायर गरेको सम्पत्ति विवरणमा यी सेयर सम्पत्ति उल्लेख गरेका छैनन् । कानुनी रूपमा यस्तो खुलासा हुनुपर्ने थियो । उनले लगुम प्रिमियम अपार्टमेन्ट्समा ५७ हजारकित्ता, होप होल्डिङ्समा ३० हजार र एडभेन्चर भिल्ला प्रालिमा ७० हजार कित्ता संस्थापक सेयर रहेको विवरणमा खुलाएका छन् ।

तर, लिबर्टी माइक्रोलाइफ र स्टार माइक्रोइन्स्योरेन्सको संस्थापक सेयर विवरण लुकाएका छन् । कम्पनी रजिस्ट्रारको कार्यालयको विवरणअनुसार गुरुङका नाममा लिबर्टी र स्टार माइक्रोइन्स्योरेन्सको २५-२५ हजार कित्ता संस्थापक सेयर छ । उक्त सेयर अंकित मूल्य १०० रुपैयाँ रहेको पनि सोही विवरणमा देखिन्छ । तर गुरुङले अफ्नो सम्पत्ति विवरणमा भने कम्पनीको नाम उल्लेख गरेका छैनन् ।

मन्त्री गुरुङले २३ र २४ भदौ २०८२ को जेनजी आम्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । कुनै अगुवा नरहेको उक्त आन्दोलनको अनुहार बनेर ‘हामी नेपाल’ का संस्थापक गुरुङ उदाएका थिए ।

रास्वपा र काठमाडौं महानगरका तत्कालीन मेयर बालेन शाहबीच एकता गराउन पनि उनी सक्रिय थिए । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाबाट निर्वाचित उनी बालेन सरकारको गृहमन्त्री बन्न सफल भएका थिए ।

स्पष्टीकरणमा पनि झुट बोले गृहमन्त्रीले

दुई माइक्रोइन्स्योरेन्समा गरेको लगानीबारे प्रश्न उठेपछि गुरुङले सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै आफूले ऋण लिएर सेयर किनेको बताएका छन् ।

धितोपत्र बजारमा कारोबार हुने सेयर २ करोडभन्दा बढीको रहेको विवरणमा उल्लेख गरेको र दुई माइक्रोफाइनान्सको सेयर पनि त्यसैमा पर्ने दाबी गुरुङले स्पष्टीकरण दिएका छन् ।

तर, उनले सम्पत्ति विवरणमा उल्लेख गरेको विषय र स्पष्टीकरण दिएको विषय फरक परेको छ । उनले २ करोड ७४ लाख ५६ हजार २०० रुपैयाँ बराबरको धितोपत्र बजारमा कारोबार हुने सेयर रहेको सम्पत्ति विवरणमा देखाएका छन् । त्यो रकमको स्रोत व्यवसाय, पैत्रिक सम्पत्ति र लगानी रहेको दाबी सम्पत्ति विवरणमा छ ।

जबकि, सामाजिक सञ्जालमा स्पष्टीकरण दिने क्रममा उनले त्यो सेयर किन्ने स्रोत ऋण भएको दाबी गरेका छन् । ‘मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो र त्यसको लिखित तमसुक मिति २०८०-०५-२९ को हो, जुन रेकर्डमा नै छ,’ गुरुङले भनेका छन्, ‘उक्त तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो ।’

अर्कातिर, धितोपत्र बजारमा कारोबार हुने सेयरमा दुई माइक्रोइन्स्योरेन्सको सेयरसमेत रहेको गुरुङको दाबी पनि झुटो देखिएको छ । गुरुङले धितोपत्र बजारमा कारोबार हुने सेयरमै यी दुई कम्पनीको सेयर पनि समावेश रहेको उल्लेख गरेका छन् ।

‘मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जो कोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ, स्टार माइक्रोइन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो, यो लुकाउने होइन, वर्गीकरणको विषय हो,’ उनले दाबी गरेका छन् ।

तर, यथार्थ भने भिन्न छ । लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्स कम्पनी र स्टार माइक्रोइन्स्योरेन्स दुवै कम्पनी अहिलेसम्म आईपीओमा गएकै छैनन् । आईपीओमा जाँदै नगएका कम्पनीको सेयर धितोपत्र बजारमा कारोबार नै हुँदैन । यसरी नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत नै नभएका सेयर पनि धितोपत्र बजारमा कारोबार सेयर रहेको भनेर उनले दोस्रो झुट बोलेका हुन् ।

यसैबीच, दुई माइक्रोइन्स्योरेन्समा अनलाइनखबर नेपालको लगानीका विषयमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न उठाएका छन् । अनलाइनखबरले प्रबर्द्धन गरेको इन्भेस्टमेन्ट कम्पनी ‘रेमी क्यापफिन प्रालि’ ले लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा ३ लाख २५ हजार कित्ताका दरले संस्थापक सेयरमा लगानी गरेको छ । दुवै कम्पनीमा रेमीको ६.१९ प्रतिशत सेयर छ ।

कम्पनीले व्यावसायिक रूपमा गरेको आम्दानीमा कानुनअनुसार लाग्ने कर सरकारलाई तिरेपछि कम्पनीको रिजर्भमा बसेको नाफाको हिस्सा रेमी क्यापफिन प्रालिमा लगानी गरेको र सोही कम्पनीले दुई माइक्रोइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरमा लगानी गरेको अनलाइनखबरका कार्यकारी निर्देशक सुरेश भुसालले बताए ।

‘अनलाइनखबर घाटा होइन, नाफा आर्जन गरिरहेको कम्पनी हो, वैध रूपमा गरेको आम्दानीमा सरकारलाई राजस्वसमेत तिरिसकेपछिको रिजर्भबाट थप लगानी गर्नु कुनै पनि व्यक्ति वा संस्थाको अधिकारको विषय हो । त्यहीअनुसार कम्पनीहरूमा लगानी गरिएको हो,’ भुसालले भने, ‘यो कम्पनीको वासलातमा स्पष्ट उल्लेख छ ।’

स्मरणीय छ, कम्पनी रजिस्ट्रारको कार्यालयको अभिलेखमा अनलाइनखबरको सब्सिडियरी कम्पनी रेमी क्यापफिनको लगानी रहेका लिबर्टी र स्टार दुवै माइक्रोइन्स्योरेन्समा हाल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका दीपक भट्टको लगानी देखिँदैन ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

पथलैया–चुरियामाई खण्डको अतिक्रमित संरचना हटाउन सडक डिभिजनको अल्टिमेटम

8वैशाख, हेटौंडा । सडक डिभिजन हेटौंडाले पर्सा बीरगञ्जको मुख्य सडक विस्तार सुरु गरेसँगै पथलैया–चुरियामाई खण्डको सडक क्षेत्रमा अतिक्रमित संरचना...

सम्बन्धित खबर