विश्वकपमा गोल गरेका युवा खेलाडी इरानकुन्डा यात्रा कुनै प्रतिष्ठित फुटबल एकेडेमीबाट सुरु भएको थिएन । त्यो यात्रा तान्जानियाको एक शरणार्थी शिविरबाट सुरु भएको थियो ।
भ्यानकुभरको बीसी प्लेस स्टेडियम गुञ्जिरहेको थियो । फिफा विश्वकप २०२६, समूह डी — अस्ट्रेलिया भर्सेस टर्की ।
२७औँ मिनेट । टर्कीले लगातार आक्रमण गरिरहेको थियो । युवा स्टार एर्दा गुलियरले क्षणअघि मात्रै गोलको उत्कृष्ट अवसर खेर फाल्दा केही क्षण अघि उत्साहित देखिएका टर्की समर्थकहरू निराश बने ।
त्यसको ठीक विपरीत, अस्ट्रेलियाली समर्थकहरूले ताली बजाउँदै बल्ल राहतको सास फेरे । किनकी, बायाँ किनारामा रहेका २० वर्षीय नेस्टोरी इरांकुण्डाले बल नियन्त्रणमा लिए । तीव्र गतिमा डिफेन्डरहरूलाई छाड्दै अगाडि बढे ।
उनी तीव्र गतिमा अगाडि बढे । डिफेन्डरहरू पछाडि पर्दै गए । पेनाल्टी क्षेत्र नजिक पुगेर उनले भित्रतिर कट गरे र दायाँ खुट्टाले प्रहार गरे । बल सिधै जालीभित्र पुग्यो । आवाज घर्कियो, गोल ।
अस्ट्रेलियाली खेलाडीहरू खुसीले उफ्रिए । समर्थकहरू गर्जिए । र विश्वकपको इतिहासमा एउटा नयाँ तथ्य थपियो । इरानकुन्डा विश्वकपमा गोल गर्ने अस्ट्रेलियाका सबैभन्दा कान्छा खेलाडी बने । .
इन्डियन एक्सप्रेस र अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार त्यो गोल केवल अस्ट्रेलियाको जितका लागि महत्त्वपूर्ण थिएन, त्यसले एउटा असाधारण जीवनयात्रालाई पनि विश्वसामु पुर्यायो ।
बीबीसीका अनुसार उनी विश्वकपमा गोल गर्ने पहिलो विदेशमा जन्मिएका अस्ट्रेलियाली खेलाडी पनि बने । खेलपछि उनले भने, ‘यो अविश्वसनीय छ । सपना पूरा भएजस्तो लागिरहेको छ ।’
आज विश्वकपमा गोल गरिरहेको ती युवा खेलाडीको यात्रा कुनै प्रतिष्ठित फुटबल एकेडेमीबाट सुरु भएको थिएन । त्यो यात्रा तान्जानियाको एक शरणार्थी शिविरबाट सुरु भएको थियो ।
जब युद्धले परिवारलाई घर छोड्न बाध्य बनायो, उनको यात्रा सुरु भएको थियो, एउटा शरणार्थी शिविरबाट । जब युद्धले परिवारलाई घर छोड्न बाध्य बनायो । नेस्टोरीको जन्म हुनुभन्दा धेरै वर्षअघि उनका आमाबुबाको जीवन बदलिइसकेको थियो ।
उनीहरू बुरुण्डीका नागरिक थिए । सन् १९९३ मा सुरु भएको गृहयुद्धले बुरुण्डीलाई एक दशकभन्दा बढी समय हिंसा, अस्थिरता र विस्थापनतर्फ धकेल्यो । लाखौं मानिस प्रभावित भए । हजारौं परिवारले आफ्नो घर छोडे ।
एबीसी अस्ट्रेलियाका अनुसार गिडियन र डाफ्रोजा इरानकुन्डा पनि त्यही परिस्थितिका कारण देश छोड्न बाध्य भएका परिवारमध्येका थिए । सुरक्षित जीवनको खोजीमा उनीहरू छिमेकी तान्जानिया पुगे । त्यहाँको किगोमा क्षेत्रमा रहेको शरणार्थी शिविर नै उनीहरूको अस्थायी घर बन्यो ।
शरणार्थी शिविर भनेको केवल पालभित्रको बासस्थान होइन । त्यो अनिश्चितताको विन्दु पनि हो । त्यहाँ बस्ने अधिकांश मानिसलाई भोलि कहाँ हुने भन्ने थाहा हुँदैन। आफ्नो देश फर्कन पाइन्छ कि पाइँदैन भन्ने पनि निश्चित हुँदैन ।
यही वातावरणमा ९ फेब्रुअरी २००६ जन्मिए, नेस्टोरी इरानकुन्डा । त्यतिबेला कसैले कल्पना गरेको थिएनन्, एक दिन यही बालक विश्वकपमा गोल गरेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको मुख्य समाचार बन्नेछ ।
तीन महिनाको शिशुको नयाँ जीवनको सुरुवात
जन्मको केही महिनापछि नै उनको जीवनमा अर्को ठूलो परिवर्तन आयो । एबीसी अस्ट्रेलिया(एबिसी नेट एयू )का अनुसार उनी तीन महिनाका मात्रै हुँदा परिवारलाई अस्ट्रेलियामा पुनर्वासको अवसर मिल्यो । परिवार पहिले पर्थ पुग्यो । त्यसपछि एडिलेड सरे ।
अस्ट्रेलिया उनीहरूको नयाँ घर बन्यो । नयाँ भाषा, नयाँ समाज र नयाँ संस्कृति । शरणार्थी परिवारका लागि यस्तो परिवर्तन सजिलो हुँदैन । आर्थिक संघर्ष, सांस्कृतिक भिन्नता र नयाँ वातावरणमा घुलमिल हुनुपर्ने चुनौती हुन्छ ।
तर यही देशले इरानकुन्डा परिवारलाई त्यो अवसर दियो, जसले नेस्टोरीको भविष्यको दिशा बदलिदियो । जहाँ फुटबल केवल खेल थिएन ।
एडिलेडको उत्तर क्षेत्रमा हुर्किँदै गर्दा फुटबल नेस्टोरीको जीवनको अभिन्न हिस्सा बन्यो । उनले स्थानीय मैदानमा घण्टौं समय बिताउन थाले । बल खुट्टामा राखेर दौडिनु उनलाई रमाइलो लाग्थ्यो ।
साथीहरूसँग प्रतिस्पर्धा गर्नु मन पर्थ्यो । र, गोल गर्नु त झन् विशेष आनन्दको विषय हुन्थ्यो । स्थानीय प्रशिक्षकहरूले चाँडै नै उनको प्रतिभा देखे । उनको गति असाधारण थियो । उमेरअनुसार शारीरिक क्षमता पनि निकै बलियो थियो ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, उनी डराउँदैनथे । विपक्षी डिफेन्डरको सामना गर्न, जोखिम लिन वा कठिन प्रहार गर्न उनी सधैं तयार हुन्थे । त्यही गुणले उनलाई अन्य बालकभन्दा फरक बनायो ।
१५ वर्षमै व्यावसायिक फुटबल
जनवरी २०२२ मा उनले एडिलेड युनाइटेडबाट व्यावसायिक फुटबलमा डेब्यु गरे । त्यतिबेला उनी केवल १५ वर्षका थिए । धेरै युवा खेलाडीहरूलाई शीर्ष स्तरमा समायोजन हुन समय लाग्छ । तर नेस्टोरीले सुरुवातदेखि नै आफू फरक भएको प्रमाणित गरे ।
उनको गति र आक्रामक खेलशैलीले समर्थकहरूलाई आकर्षित गर्न थाल्यो । ए–लिगमा उनी चाँडै चर्चित युवा खेलाडी बने । अस्ट्रेलियाली सञ्चारमाध्यमहरूले उनको खेललाई विशेष ध्यान दिन थाले ।
इन्डियन एक्सप्रेसले उद्धृत गरेको सिड्नी मर्निङ हेराल्डको एक विश्लेषणमा उनलाई ‘विस्फोटक गति, असाधारण शक्ति र दुर्लभ दायाँ खुट्टा भएका खेलाडी’ भनेर वर्णन गरिएको थियो । धेरैले उनलाई अस्ट्रेलियाली फुटबलको भविष्य भन्न थाले ।
टिम काहिलपछि अर्को ठूलो आशा
अस्ट्रेलियामा फुटबलका कुरा गर्दा टिम काहिलको नाम अनिवार्य रूपमा आउँछ । विश्वकपमा गोल गर्ने, देशलाई ठूला प्रतियोगितामा सफलता दिलाउने र समर्थकको मन जित्ने काहिललाई धेरै युवा खेलाडीले आदर्श मान्छन् ।
नेस्टोरी पनि तिनैमध्ये एक थिए । उनले बाल्यकालदेखि नै काहिललाई प्रेरणाको स्रोत मानेका थिए । विश्वकपमा टर्कीविरुद्ध गोल गरेपछि उनको उत्सवले पनि धेरैलाई काहिलको सम्झना गराएको थियो ।
जब बायर्न म्युनिखले ढोका खोल्यो
प्रतिभा धेरै समयसम्म लुकेर बस्न सक्दैन । ए–लिगमा लगातार राम्रो प्रदर्शनपछि युरोपेली क्लबहरूको ध्यान उनीतर्फ जान थाल्यो । अन्ततः जर्मनीको प्रतिष्ठित क्लब बायर्न म्युनिखले उनलाई अनुबन्ध गर्यो । त्यो अस्ट्रेलियाली फुटबलका लागि ठूलो उपलब्धि थियो । किनभने विश्व फुटबलका कमै युवा खेलाडीले मात्र यस्तो अवसर पाउँछन् ।
तर बायर्न पुग्नु अन्तिम लक्ष्य थिएन । त्यो नयाँ संघर्षको सुरुवात थियो ।
युरोपको कठोर पाठ
अस्ट्रेलियामा उनी असाधारण प्रतिभा भएको मानिन्थे । तर युरोपमा हरेक खेलाडी प्रतिभाशाली हुन्छ । प्रतिस्पर्धा झन् कठिन हुन्छ ।
बायर्नमा उनले अपेक्षाअनुसार नियमित अवसर पाएनन् । कहिलेकाहीँ युवा खेलाडीका लागि प्रतिभाभन्दा धैर्यता महत्त्वपूर्ण हुन्छ । उनी पनि त्यही चरणबाट गुज्रिए ।
नियमित खेल समयको खोजीमा उनले अर्को बाटो रोजे ।
वाटफोर्डमा पुनः आत्मविश्वासको खोजी
बायर्नपछि उनी इंग्ल्यान्डको वाटफोर्ड पुगे । त्यहाँ उनले नियमित खेल्ने अवसर पाए । गोलको स्वाद चाख्न थाले । उनको आत्मविश्वास बढ्दै गयो । र, राष्ट्रिय टोलीमा आफ्नो स्थान अझ बलियो बनाए ।
विश्वकपअघि धेरै विश्लेषकहरूले उनलाई अस्ट्रेलियाको सबैभन्दा रोमाञ्चक युवा खेलाडीका रूपमा उल्लेख गरेका थिए ।
बहुसांस्कृतिक अस्ट्रेलियाको प्रतीक
एबीसी अस्ट्रेलियाले उल्लेख गरेअनुसार वर्तमान अस्ट्रेलियाली टोलीमा विभिन्न पृष्ठभूमिका खेलाडी छन् । अफ्रिकी मूलका धेरै खेलाडीहरूले राष्ट्रिय टोलीमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।
नेस्टोरी आफैंले पनि अफ्रिकी मूलका खेलाडीहरूको प्रतिनिधित्वप्रति गर्व व्यक्त गरेका छन् । उनको सफलताले शरणार्थी र आप्रवासी समुदायका धेरै युवालाई प्रेरणा दिएको छ ।
विश्वकपमा आएको त्यो क्षण
टर्कीविरुद्धको गोल केवल एउटा व्यक्तिगत उपलब्धि थिएन । त्यो प्रतीक्षा गरिएको पुष्टि थियो । वर्षौंदेखि अस्ट्रेलियाली फुटबलले उनको प्रतिभाको चर्चा गरिरहेको थियो । टर्कीविरुद्ध उनले त्यो प्रतिभालाई विश्वकपको मञ्चमा प्रमाणित गरे ।
रायटर्सका अनुसार उनको गोलले अस्ट्रेलियाको जितको आधार तयार गर्यो र टोलीले प्रतियोगितामा महत्त्वपूर्ण सुरुवात गर्यो । तर स्कोरबोर्डभन्दा पर गएर हेर्दा त्यो गोलले अर्को अर्थ पनि बोकेको थियो ।
त्यो गोल एउटा शरणार्थी परिवारको संघर्षको सम्मान थियो । आमाबुबाले खोजेको सुरक्षित भविष्यको प्रमाण थियो । र, अवसर पाएपछि मानिस कहाँसम्म पुग्न सक्छ भन्ने उदाहरण पनि थियो ।
जब संसारले एउटै शीर्षक लेख्न थाल्यो
टर्कीविरुद्धको खेलपछि विश्वभरका सञ्चारमाध्यममा एउटै विषय प्रमुख बन्यो । त्यो हो, ‘रिफ्युजी क्याम्प टु वर्ल्ड कप’ । रायटर्स, इन्डियन एक्सप्रेस, एबीसी अस्ट्रेलिया र अन्य धेरै सञ्चारमाध्यमले उनको गोलसँगै उनको यात्रालाई प्राथमिकताका साथ प्रस्तुत गरे ।
किनभने खेलकुदमा गोलहरू धेरै हुन्छन् । रेकर्डहरू पनि बन्छन् । तर शरणार्थी शिविरमा जन्मिएको बालक विश्वकपमा इतिहास रच्ने कथा हरेक दिन जन्मिँदैन ।
अझै सुरुवात मात्र
२० वर्षको उमेरमा धेरै खेलाडीहरू अझै आफ्नो भविष्य खोजिरहेका हुन्छन् । नेस्टोरी इरानकुन्डाले भने त्यसअघि नै विश्वकपमा गोल गरिसकेका छन् । तर उनको कथा समाप्त भएको छैन ।
बरु, सम्भवतः यो सबैभन्दा रोचक अध्यायको सुरुवात मात्र हो । किनकि १४ जुन २०२६ मा विश्वकपको मैदानमा गोल गर्ने त्यो युवा खेलाडीलाई हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ, कहिलेकाहीँ इतिहास प्रतिष्ठित प्रशिक्षण केन्द्रमा होइन, संसारले लगभग बिर्सिएका शरणार्थी शिविरहरूमा पनि जन्मिन्छ ।
र जब अवसर, प्रतिभा र दृढता एकै ठाउँमा भेटिन्छन्, त्यही इतिहास एक दिन विश्वकपको उज्यालो मञ्चमा पुगेर संसारलाई प्रेरित गर्छ ।




