बैशाख ३१/ पर्सा
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र वडा नम्बर १२ का वडाअध्यक्ष सुरेश गुप्ताले सयुँक्त रुपमा शिलान्यास गरेका हुन् ।
शिलान्यास गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्वास्थ्य चौकी भवन निर्माण भएपछि वडाका बासिन्दा लाभान्वित हुने विश्वास व्यक्त गरे । १७ चैत २०८० मा स्वास्थ्य चौकी भवन निर्माणका लागि दिब्य सूर्याेदय आस्था जे.भि.सँग वीरगञ्ज महानगरपालिकाले सम्झौता गरेको थियो ।
वीरगञ्ज महानगरपालिकाले ८६ लाख ३६ हजार ६९६.६२ रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता गरेको हो । स्वास्थ्य चौकी भवन निर्माण यही असार १५ गतेसम्म सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
यसअघि भाडामा सञ्चालित स्वास्थ्य चौकी भवन निर्माणपछि आफ्नै भवनमा सञ्चालन आउने वडाअध्यक्ष गुप्ताको भनाई छ । स्वास्थ्य चौकीमा अहिले ५ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।
शिलान्यास कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मातृका प्रसाद भट्टराई, वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का पूर्व वडाअध्यक्ष रामदरश कुशवाहा, जनप्रतिनीधि, बुद्धिजिवी, समाजसेवी तथा स्थानीयको उपस्थिती रहेको थियो ।