
सखुवाप्रसौनी गाउँपालिकामा गत चैत १६ गते पाँच कक्षामा अध्ययनरत १२ वर्षीया छात्रामाथि एकजना शिक्षक र अर्का एकजना युवकले गरेको बलात्कारको घटनाले नयाँ मोड लिएको छ । बलात्कारको आरोपित डकैला निमाविका शिक्षक रूपेश यादव घटनाको ३६ दिनपछि जिल्ला प्रहरी कार्यालय, पर्सामा मङ्गलवार हाजिर भएका थिए । शिक्षक यादवलाई प्रहरीले जिल्ला न्यायाधिक्ताको कार्यालयमार्फत अदालतमा हाजिर गराएर हिरासतमा राखेर अनुसन्धानका लागि म्याद लिएको छ ।
घटनाका अर्का आरोपी २५ वर्षीय लड्डु यादव भने हालसम्म फरार छन् । लड्डु अहिले भारतमा लुकेर बसेका तर सामाजिक सञ्जाल टिकटकमा उनी देखा पर्दै आए पनि प्रहरीले उनलाई पक्राउ गर्न खासै चासो देखाएको छैन । पीडिताका पिताले एक साता अघि नेपाल पत्रकार महासङ्घ पर्सामा पत्रकार सम्मेलन गरेर घटनाका आरोपीलाई प्रहरीले जोगाउन खोजेको आरोप लगाएका थिए ।
यसैगरी, छोरीलाई विभिन्न माध्यमबाट धम्की दिने काम भएको र प्रहरीले अभियुक्तहरूलाई तह लगाउन भूमिका नखेलेको आरोप लगाएका थिए । पीडिताका पिताले प्रहरीमाथि पनि गम्भीर आरोप लगाउँदै बयान फेर्ने काम गरेको, रिपोर्टमा छेडछाड गरेको आरोप लगाएका थिए । यसबारेमा पर्सा प्रहरीले आधिकारिक धारणा सार्वजनिक गरेको छैन । यसैबीच, शिक्षक यादव नाटकीयरूपमा प्रहरीमा हाजिर भएपछि पीडिताका पिताले लगाएको आरोप सही देखिन थालेको छ । नाबालिकालाई अभियुक्त लड्डु यादव र भगल यादवको घरमा राखेर एकैदिन दुईपटक बलात्कार गरिएको आरोप छ ।




