जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयबाट सादा पोशाकमा परिचालन गरिएका बरिष्ठ प्रहरी नायब निरीक्षक(सई) गोपाल थापा मगरलाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ ।
तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङको सिफारिसमा डीआईजी थपलियाले उनलाई आफू सरुवा हुँदा सँगै मधेश प्रदेशमा लिएर गएका थिए । खापुङ कोशी प्रदेशको डीआईजी हुँदा थापामगर उनका घुमुवा थिए ।
खापुङ सीआईबीमा सरुवा भएपछि सँगै लगेका थिए । खापुङकै सिफारिसमा मधेश प्रदेशमा लगेर सई थापामगरलाई ८ वटै जिल्लाको घुमुवा कमाण्डरका रुपमा डीआईजी थपलियाले जिम्मा दिएका थिए ।
डीआईजीले घुमुवा बनाएपछि बरिष्ठ सई थापामगरले मधेशका ८ वटै जिल्ला प्रहरी कार्यालयका सादा पोशाकका प्रहरीलाई प्रदेश प्रहरीमा बोलाउँदै मासिक दररेट बुझाउनुपर्ने सर्त राख्ने, नमाने गणमा ड्युटीमा हाल्ने समेत गर्न थाले ।
जिल्लाले खटाएका प्रहरीले डीआईजीका घुमुवा थापामगरको माग अनुसारको भेटी बुझाउन तयार नभएपछि उनले एसपीसँग समेत समन्वय नगरी तानेका थिए । जसले गर्दा कतिपय एसपीसँग डीआईजीको दूरी नै बढ्न थालेको थियो ।
डीआइजीको आडमा थापामगरले इलाका प्रहरीदेखि बिभिन्न युनिटमा कार्यरत क्यूआरटी ड्युटीमा रहेका प्रहरी जवानलाई समेत प्रदेशमा बोलाउने, कहिले सप्तरी त कहिले रौतहटको रमाना दिने जस्तो अत्याचार समेत गरेका थिए ।
घुमुवा सईले जिल्ला जिल्लाबाट डीआईजीको नाम लिने, जथाभावी प्रहरी तान्ने, दररेटअनुसार बुझाउन तयार भए प्रदेश कार्यालय नपुग्दै जिल्लामै फिर्ता गर्ने गर्दैआएका थिए ।
सई थापामगरले प्रदेशका ८ वटै जिल्लामा घुमुवा राख्ने, जिल्लामा राखिएका घुमुवालाई प्रदेशमा तान्ने गरेको गुनासो प्रहरी हेडक्वाटरमा पुगेपछि उनलाई छानबिनका लागि प्रहरी प्रधान कार्यालयले तानेको बताइएको छ । प्रहरी मुख्यालयले तानेपछि उनी फेरि पूर्वआईजीपी खापुङमार्फत् मधेश प्रदेशमै फर्किने दाउमा लागिसकेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्





