रौतहट, 12 सरस्वती पूजाको मुर्ति सेलाउने क्रममा रौतहटको परोहा नगरपालिका–९ रामपुरखाप गाउँमा दुई समुदायबीच विवाद उत्पन्न भई उग्र रूप लिएपछि सुरक्षाकर्मीले ६८ राउण्ड टियरग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएका छन् ।
मूर्ति सेलाउन गइरहेको जुलुस र फरक समुदायका केही नागरिकबीच सुरु भएको भनाभनाले झडपको रूप लिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा लिनुपरेको हो । घटनामा केही स्थानीय तथा सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । घाइते सबैको उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।
घटनापछि रामपुरखाप क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी कडा सुरक्षा व्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा डिएसपी विष्णुप्रदीप वस्यालले दुबै पक्षलाई संयमित रहन आग्रह गर्दै समाजमा अशान्ति फैलाउने गतिविधिबाट टाढा रहन अनुरोध गरेका छन् । आवश्यक अनुसन्धानका क्रममा केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटको अपिल
घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै जिल्ला प्रशासन कार्यालय रौतहटले धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी अपिलमा राजनीतिक दलको सहभागितामा स्थानीय अगुवाहरूसँग छलफल गरी समस्या समाधान गरिने उल्लेख गरिएको छ ।
अपिलमा धार्मिक विविधताबीच एकता, शान्ति र सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय सरकार, सञ्चारकर्मी, नागरिक समाज, शिक्षक, विद्यार्थी, उद्योगी तथा संघ–संस्थाहरूलाई सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ । साथै शान्ति स्थापनाको कार्यमा सुरक्षाकर्मीलाई सहयोग गर्न सबैसँग अनुरोध गरिएको छ ।
यसैबीच, नेपाली काँग्रेसका उम्मेदवार महम्मद फिरदोस आलम, किरण साहसहित विभिन्न राजनीतिक दलका नेताहरूले छुट्टाछुट्टै अपिल जारी गर्दै धार्मिक सद्भाव र राष्ट्रिय अखण्डताविरुद्ध क्रियाशील तत्वप्रति सतर्क रहन तथा समाजमा शान्ति र भाईचारा कायम गर्न सबैलाई सक्रिय हुन आह्वान गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्




