सूर्यको आवाज– के हामीले कहिल्यै सोचेका छौं, यदि अन्तरिक्षमा हावा हुन्थ्यो भने आज हामी जीवित हुन्थ्यौं कि हुँदैनौं ? जुन सूर्यको पहिलो किरणलाई हामी शान्ति र आनन्दको प्रतीक मान्छौं, वास्तवमा त्यो ब्रह्माण्डमा अत्यन्त खतरनाक हल्ला मच्चाउने स्रोत हो । वैज्ञानिक गणना अनुसार सूर्यको आवाज यति भयानक हुन्छ कि एकछिनमैं मानिसलाई बहिरो बनाउन सक्छ ।
सूर्यको आवाज बनाम जेट इन्जिन– विज्ञानको दुनियाँमा एउटा भनाइ छ, अन्तरिक्षमा कसैले चिच्याए पनि कसैले सुन्न सक्दैन । अलि सोचौं, यदि अन्तरिक्षका आवाजहरू हामीसम्म आइपुग्थे भने के हुन्थ्यो ? शायद सबैका कान फुट्ने थिए । सुन्दा अचम्म लागे पनि यो कुरा सत्य हो । हामी प्रायः उदाउँदो सूर्यको शान्त रूप र रातोपनको प्रशंसा गर्छौं, तर के हामीले कहिल्यै सोचेका छौं, यदि सूर्यको आवाज पृथ्वीमा आइपुग्थ्यो भने के हुन्थ्यो ? विज्ञानका अनुसार सूर्य शान्त होइन, बरु एक विशाल र हिंस्रक न्यूक्लियर रिएक्टर जस्तै हो । वैज्ञानिकहरूको अनुमानमा सूर्यको सतहमा उत्पन्न हुने आवाज करीब २९० डेसिबल बराबर हुन्छ ।
१० नील जेट इन्जिन बराबरको आवाज– यदि तुलना गरेर बुझ्ने हो भने, जेट इन्जिननजीक उभिंदा करीब १४० डेसिबल आवाज सुनिन्छ, जुन कानको पर्दा फुटाउन पर्याप्त हुन्छ । तर सूर्यको आवाज यसभन्दा धेरै ठूलो हुन्छ, जसलाई करीब १०,००,००,००,००,००,००,००० वटा जेट इन्जिन एकैपटक चलेको बराबर मानिन्छ । यदि यस्तो आवाज पृथ्वीमा आइपुग्थ्यो भने मानिसका कान मात्र होइन, त्यसको शकवेभका कारण अग्ला भवनहरूसमेत ढल्न सक्थे ।
हामीलाई किन सुनिंदैन यो आवाज ?– सूर्य र पृथ्वीबीच करीब १५ करोड किलोमिटर दूरी छ । अन्तरिक्ष वास्तवमा एक प्रकारको वैक्यूम (खाली स्थान) हो । आवाजलाई यात्रा गर्न हावा वा पानीजस्ता माध्यम चाहिन्छ । अन्तरिक्षमा यस्तो माध्यम नभएकाले सूर्यको यो भयानक आवाज हामीसम्म पुग्न सक्दैन । यसरी हेर्दा ब्रह्माण्डको यो शून्यता हाम्रोलागि संसारकै उत्कृष्ट नोइज–क्यान्सलिङ हेडफोन जस्तै बनेको छ ।
वैज्ञानिकहरूले कसरी सुने सूर्यको आवाज ?– अब प्रश्न उठ्न सक्छ, जब सूर्यको आवाज पृथ्वीमा आउँदैन भने वैज्ञानिकहरूले कसरी सुने ? यसको उत्तर हो कि हामीले सूर्यको आवाज सीधैं सुन्न सक्दैनौं, तर वैज्ञानिकहरूले ‘हेलियोसिस्मोलोजी’ नामक प्रविधि प्रयोग गर्छन् । यस प्रविधिबाट सूर्यको सतहमा हुने कम्पनहरूलाई डेटामा रूपान्तरण गरेर अडियो बनाइन्छ । जब यसलाई मानिसले सुन्न सक्ने फ्रिक्वेन्सीमा परिवर्तन गरिन्छ, तब त्यो आवाज गहिरो सङ्गीत जस्तो वा टाढाबाट आएको गर्जन जस्तो सुनिन्छ ।




