spot_img

६ दशमलव १ रेक्टरस्केलको भूकम्पपछि धादिङमा पटक-पटक परकम्प, सतर्कता अपनाउन विज्ञको आग्रह

कात्तिक ५, २०८० आइतबार ८:२३:४८ | काठमाण्डाै – बिहान धादिङ केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएपछि पटक-पटक परकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो भूकम्पपछि लगातारजसो परकम्प गइरहेका छन् । थप ठूलो धक्कासमेत आउन सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन उहाँको आग्रह छ ।
भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई खुलाचौरमा बस्न उहाँको अनुरोध छ । बिहान भूकम्प गएपछि धादिङका धेरै ठाउँका बासिन्दा घर बाहिर निस्किएका थिए । अहिले आफूहरु खुला ठाउँमा बसिरहेको धादिङको मछेडिखोलाकी शुभद्रा गौतमले जानकारी दिनुभयो ।
भूकम्पको धक्का काठमाण्डौ उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो । भूकम्पका कारण क्षति भए नभएकाेबारे विवरण आउन बाँकी छ ।
यसअघि गएको असाेज महिना बझाङ केन्द्रबिन्दु बनाएर पटक-पटक भूकम्प गएको थियो । गएको २ गते राति बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसैगरी, असोज १६ गते ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसपछि बझाङमा लगातारजसो साना र मध्यम भूकम्प र परकम्प गइरहेको बेला धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र रहेकाले जुनसुकै बेला पनि ठूलो भूकम्पको जोखिममा छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रमा स–साना भूकम्प गइरहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
neelambads

ताजा खबर

सम्बन्धित खबर