दिपक कुशवाहा, ०३ माघ/
पर्सा । यातायात व्यवस्था कार्यालय सवारी शाखामा रहेको लेखा शाखाको भ्रष्टाचारका कारण कार्यालय नै बदनाम हुदै गएको समाचार प्राप्त भएको छ ।
लेखा अधिकृत दिनेश पडितको निर्देशनमा भईरहेको सो भ्रष्टाचारका कारण सेवाग्रहीहरु पिडित बन्दै गएका छन् ।
सेवाग्रहीहरुले बैंकमा राजस्व रकम बुझाई लेखा शाखामा नगदी रसिद लिन जाँदा रसिद काटने करारमा कार्यरत्त सहायक कम्प्यूटर अपरेटरहरु रमेश पटेल, लक्ष्मीनारायण कुशवाहा, सुजित झा, बृजकिशोर यादव लगायतकाले प्रत्येक रसिदमा ५० रुपैया देखि १०० रुपैया सम्म अतिरिक्त रकम लिई मात्र रसिद काटने गरेको भुक्तभोगीहरु बताएका छन् ।
सेवाग्रहीहरुले बैंकको भौचर भित्र रकम बेरेर दिने गरेको जो सुकैले पनि सहजै हेर्न सक्छ । दैनिक करिब दुई लाख घुस असुल्ने गरेका सहायक कम्प्यूटर अपरेटरहरुको हिसाब किताब उमेश दासले गर्ने गरेको बताईन्छ ।
सहायक कम्प्यूटर अपरेटरहरुको मुख्य नाईकेको रुपमा रहेका रमेश पटेलले कैयौं लेखनदासहरु सँग दर्जनौं गाडीहरुको रकम म बैंकमा अनलाईन बुझाई दिन्छु भन्दै एकमुष्ट आफ्नो खातामा मगाई केही गाडीहरुको रकम बुझाई केहीको नगदी रसिद मात्र काटी नेपाल सरकारको राजस्व दम्पच गर्ने गरेको समाचार स्रोतले जनाएको छ ।
ती स्रोतका अनुसार लेखा शाखामा कुनै पनि महिनामा :
सेवाग्रहीहरुले बैंकमा जम्मा गरेको रकम र नगदी रसिदको हिसाब किताब मिलान हुन नसकेको बताईन्छ । राजस्वको रकम दम्पच गर्नमा माहिर मानिएका रमेश पटेलको खाता नम्बर चेक गर्दा कस-कसले, कुन-कुन मितिमा कति-कति रकम पठाएका हुन ? नियमनकारी निकायले छानबिन गर्दा सहजै घाम जस्तै छर्लङ्ग हुने स्रोतको दाबी रहेको छ ।
नयाँ सवारी दर्ता हुने क्रममा प्रति मोटरसाईकल ब्लुबुक २५, कारजिप ५० र हेभी गाडीको १०० रुपैया लिएर नगदी रसिद काटने गरिएको स्रोतको भनाई रहेको छ । जसको लाखौं लाख आउने रकम एकलै लेखा अधिकृत दिनेश पडितको हुने र केही अंश लेखापाल सुरेन्द्र यादवको हुने गरेको बताईन्छ ।
सहायक कम्प्यूटर अपरेटर रमेश पटेलको समुहले काटने गरेको रसिदबाट आउने घुसको रकममा पनि लेखा अधिकृत पडित र लेखापाल यादवको भाग लाग्ने गरेको बताईन्छ । केही महिना अघि आएका लेखा अधिकृत पडितको आगमन सँगै लेखा शाखामा बढेको भ्रष्टाचारका कारण कार्यालयनै बदनाम हुदै गएकोमा नियमनकारी निकायको मौनताले सचेत नागरिकहरु आश्चर्यमा रहेका छन् ।