दिपक कुशवाहा पर्सा – पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. ३ का जनप्रतिनिधि भाषण र स्वार्थपूर्तिमा मात्र सीमित भएकाले क्षेत्र नेता विहीन बनेको दाबी युवा व्यवसायी रुपेश पाण्डेले गरेका छन्।
सञ्चारकर्मीहरूसँगको भेटघाटमा पाण्डेले दक्षिण भारतको सीमा देखी उत्तर थरुवटसम्म फैलिएको ३५ वडामा विकासको गति शून्य रहेको टिप्पणी गरे। उनका अनुसार जनप्रतिनिधिहरू जनताको समस्या समाधानमा भन्दा निजी लाभमा केन्द्रित भएकाले आम नागरिक नेताको खोजीमा छन्।
खानेपानी ट्यांकी अलपत्र, डिप बोरिङमा रकमको दुरुपयोग
पाण्डेले पोखरिया नगरपालिका र पकहाँ मैनपुर गाउँपालिकामा लाखौँको लागतमा निर्माण भएका खानेपानी ट्यांकी अझै सञ्चालनमा नआएको र जनप्रतिनिधिहरूले कुनै चासो नदेखाएको आरोप लगाए। उनले डिप बोरिङको नाममा राष्ट्रको लाखौँ रकम पानी जस्तै बगाइएको र आम नागरिकलाई सास्ती दिइएको दाबी पनि गरे।
प्रत्यक्ष तर्फ ४ जना प्रतिनिधि सभा सदस्य र ८ जना प्रदेश सभा सदस्य रहेको पर्सामा मन्त्रालयसमेत पाएको अवस्थामा पनि विकास नहुनु दुर्भाग्य भएको पाण्डेको भनाइ छ।
राजनीतिकभन्दा समाजमुखी नेतृत्वको आवश्यकता
व्यापारिक, आर्थिक र सामाजिक दृष्टिकोणबाट सक्षम देखिएको पर्सामा अपेक्षित विकास नहुनुको कारण भ्रष्ट नेतृत्व भएको पाण्डेको आरोप छ। उनका अनुसार जनप्रतिनिधिहरू निर्वाचनको बेला मात्र जनप्रिय बन्ने र जितेपछि आफ्ना निकटवर्तीकै हितमा सीमित हुने प्रवृत्ति अन्त्य गर्नुपर्छ।
समाज रुपान्तरणका लागि सक्रियता
मानिकपुर–२ निवासी युवा व्यवसायी पाण्डे पछिल्लो समय गाउँ–गाउँमा जनताको दुःख पीडा सुन्न र समाधानका उपाय खोज्न सक्रिय छन्। २०८४ को प्रतिनिधि सभा निर्वाचनका लागि उनको उम्मेदवारीबारे चर्चा चुलिएको छ।
पाण्डेको भिजन
पोखरिया बजारको समग्र विकास, मठ–मन्दिरको संरक्षण, कृषि प्रविधिकीकरण, शिक्षा र स्वास्थ्यमा सहज पहुँचलाई मुख्य मुद्दा बनाउँदै पाण्डेले क्षेत्रको नयाँ रुप देखाउने भिजन सार्वजनिक गरेका छन्।
जनताको समर्थन र सम्भावित परिवर्तन
नयाँ सोच र भिजनसहित प्रस्तुत पाण्डेप्रति आम नागरिकको आकर्षण बढ्दो छ। कतिपयले उनलाई अहिले नै सांसदको रूपमा हेर्न थालेका छन्। स्थानिय अभिभावक र युवाहरूको साथ लिएर उनले ३५ वडालाई आर्थिक र सामाजिक दृष्टिले रुपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्।
निर्वाचन अझै करिब ढाई वर्ष बाँकी भए पनि पाण्डेको लोकप्रियताले २०८४ मा पर्सा–३ मा राजनीतिक परिवर्तनको सम्भावना बढाएको जनताको आकलन छ।