वीरगंज, ३ भदौ ।
नेपाल इन्जिनियर्स एसोसिएसन वीरगंज केन्द्रका हालै सम्पन्न निर्वाचनमार्फत चयन भएका नवनिर्वाचित पदाधिकारीलाई वीरगंज महानगरपालिकाले मंगलबार सम्मान गरेको छ।
महानगर प्रमुख राजेशमान सिंहले आफ्नो कार्यकक्षमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष प्रियान्सुकुमार गुप्ता, उपाध्यक्ष श्यामकिशोर दास, सचिव मनिष केशरीसहित कार्यसमितिका अन्य पदाधिकारीलाई सम्मान गर्दै आगामी कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सिंहले इन्जिनियरहरूलाई विकासको मेरुदण्डको संज्ञा दिँदै भने, “इन्जिनियरहरूको योजनाबद्ध काम र इमान्दार प्रयासले मात्र शहर र देशको विकास सम्भव हुन्छ। त्यसका लागि महानगर सधैं सहयोगका लागि तयार छ।”
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले पनि नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै व्यावसायिक मर्यादा कायम राख्दै महानगर र समुदायसँग सहकार्यमा काम गर्न आग्रह गरे।
अध्यक्ष गुप्ताले महानगरले प्रदान गरेको सद्भाव र सम्मानप्रति आभार व्यक्त गर्दै युवा इन्जिनियरहरूको क्षमता विकास, तालिम तथा प्राविधिक क्षेत्रमा नवीनता ल्याउन आफूहरू प्रतिबद्ध रहने बताए। उपाध्यक्ष दास र सचिव केशरीले समेत संस्थालाई बलियो बनाउन, सदस्यबीच एकता कायम राख्न र समाज विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा सहभागी अन्य पदाधिकारी तथा इन्जिनियरहरूले वीरगंजलाई आधुनिक, व्यवस्थित र प्राविधिक दृष्टिले सम्पन्न शहर बनाउन महानगरसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।