वीरगंज, २० माघ/वीरगंज लेडिज सर्कल–३ को आयोजनामा मङ्गलवार जैन धर्मशालामा ११ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ ।
नेपाल लेडिज सर्कलकी केन्द्रीय अध्यक्ष शिवानी अग्रवाल एवं वीरगंज लेडिज सर्कलकी अध्यक्ष नन्दनी अग्रवालको नेतृत्वमा सामूहिक वैवाहिक कार्यक्रम सम्पन्न भएको हो ।
विपन्न वर्गका छोराछोरीको विवाह आर्थिक अभावले रोक्नुहुँदैन भन्ने उद्देश्यले लेडिज सर्कलसँग आबद्धहरूको सहयोगमा हिन्दू परम्परा अनुसार सामूहिक विवाह कार्यक्रम गरिएको अध्यक्ष अग्रवालले बताइन् ।
बिहान दुलहाहरू सम्मिलित गरेर जन्ती निकालिएको र नगरपरिक्रमापश्चात् जैन धर्मशालामा वैवाहिक कार्यक्रम सम्पन्न गरिएको थियो ।
धर्मशालामा जन्तेहरूसहित दुलहाहरूलाई वधूपक्षले द्वारपूजा गरी स्वागत गरेर भिœयाएको र पछि वरमाला, कन्या निरीक्षण, अग्निपरिक्रमामा गरेर सामूहिक विवाह सम्पन्न भएको थियो ।
सो अवसरमा बेहुलाबेहुलीका लागि आवश्यक पहिरन, गहना र दाइजोको रूपमा विवाहपश्चात् आवश्यक घरायसी तथा व्यक्तिगत सामानहरू पनि उपलब्ध गराइएको थियो ।
सो अवसरमा सहभागीहरूले लेडिज सर्कल परिवारलाई धन्यवाद व्यक्त गर्दै नवदम्पतीहरूको सुखद दाम्पत्य जीवनको लागि शुभकामना दिएका थिए ।




