राजतन्त्रदेखि गणतन्त्रसम्मको हाम्रो वैश्विक यात्रा कुनै एउटा काल्पनिक कथा होइन, घाम झुल्किएर एकाएक उज्यालो भएको सुन्दर बिहान जस्तो पनि होइन । यो शताब्दीऔँ लामो राजनीतिक सङ्घर्ष, दार्शनिक पुनर्निर्माण र संस्थागत प्रयोगहरूको तहगत र क्रमिक रूपान्तरणको परिणाम हो । यस इतिहासमा केवल राजनीतिक क्रान्तिहरूको मात्र योगदान छैन, दार्शनिकी र विचारहरूको पनि त्यत्तिकै ठुलो जोडबल छ ।अर्थात् हाम्रो वैश्विक गणतन्त्र केवल भौतिक उथलपुथल र विद्रोहको मात्र परिणाम होइन, विचार र आदर्शले पनि यसलाई उत्तिकै आकार दिएको छ । यद्यपि, विश्वका सबै कुनामा गणतन्त्रको सान्दर्भिकता भनेको मूलतः एउटै सटिक प्रश्नमा टिकेको छ– राजनीतिक अधिकार जन्मसिद्ध रूपमा वंशाणुगत हुनुपर्छ कि नागरिकहरूको सहमतिबाट प्राप्त हुनुपर्छ ? खासमा यही प्रश्नको उत्तरबाट जन्मिएको हो गणतन्त्र ।आधुनिक गणतन्त्रको चिन्तन फगत एक्लै उत्पत्ति भएको पनि होइन । यो ‘इनलाइटनमेन्ट’ (विवकको युग) दर्शनदेखि क्रान्तिकारी पर्चाहरू र संवैधानिक बहससम्म फैलिएको लामो बौद्धिक परम्पराको विरासत हो । त्यसैले पनि, निरङ्कुश राजतन्त्रको पतन र गणतान्त्रिक संस्थाहरूको उदयलाई वंशाणुगत शासनलाई चुनौती दिने र राजनीतिक वैधतालाई पुनः परिभाषित गर्ने दार्शनिक तर्कहरू बिना बुझ्न सकिँदैन । गणतन्त्रको गहनतालाई बोध गर्न सकिँदैन ।हो, आधुनिक गणतन्त्रले समेत अपेक्षाकृत रूपमा दिनहीनका समस्याको सम्बोधन गर्न सकेको छैन । सुशासन र स्थायित्व कायम गर्न सकेका छैनन् । सेन इरभिङले गणतन्त्रवादबारे आफ्नो विचारमा भन्छन्, ‘आधुनिक गणतन्त्रहरू अधूरा परियोजनाहरू हुन् ।’ यसको कारण निर्वाचन वा संविधानजस्ता औपचारिक संरचनाको अभाव होइन, बरु ती संरचनाहरूले जनसार्वभौमिकता र नागरिक समानताको वैचारिकी द्वारा कबोल गरिएका वाचा पूर्ण रूपमा पूरा गर्न नसक्नु हो । यस अर्थमा गणतन्त्र पनि स्व(सु)शासनको अन्तिम गन्तव्य होइन, बरु राजनीतिक स्वशासनको निरन्तर प्रयोग भने हो । एउटा सुन्दर प्रयास हो ।यो अधूरो यात्रालाई बुझ्न राजतन्त्रबारेका प्रारम्भिक आलोचनात्मक ग्रन्थहरूमा फर्कन आवश्यक हुन्छ । विशेष गरी जेम्स फेनिमोर कोपरको ‘अन द डिसएडभान्टेज अफ मोनार्की,’ वाल्टर बेजहटको ‘द मोनार्की’ र ‘द इङ्लिस मोनार्की एण्ड अमेरिकन मोनार्की’मा प्रस्तुत तुलनात्मक राजनीतिक विश्लेषणले वर्तमान गणतन्त्रको आधारशिला तय गरेका थिए ।
यी ग्रन्थहरूले वंशाणुगत अधिकार र लोकतान्त्रिक वैधताबिचको तनावलाई उजागर गरेका छन् । अनि यही तनावले नै आजसम्म राजनीतिक प्रणालीहरूलाई आकार दिइरहेको छ भने हाम्रो जस्ता कलिला गणतन्त्रमा त वंशाणुगत अधिकार र लोकतान्त्रिक वैधताबिचको तनाव झनै टड्कारो बनेर आउने गरिरहेकै छ ।
- राजतन्त्र र यसको बौद्धिक आलोचना
राजतन्त्रको विरोध ऐतिहासिक रूपमा उत्तरदायित्व, समानता र तर्कसङ्गत शासनको चिन्तामा आधारित छ । ‘अन द डिसएडभान्टेज अफ मोनार्की,’मा कोपरले राजतन्त्रलाई वंशाणुगत अभिजात वर्गभित्र राजनीतिक शक्ति केन्द्रित गर्ने प्रणालीका रूपमा प्रस्तुत गर्छन् ।
यसले नागरिक सहभागिता सीमित गर्छ र सामाजिक पदानुक्रम (हाइरार्की)लाई बलियो बनाउँछ । सन् १८६७मा लेखिएको कृतिमा उनले राजतन्त्रको प्रतीकात्मक वा स्थायित्व दिने भूमिकालाई पूर्ण रूपमा अस्वीकार नगरे पनि ‘वंशाणुगत अधिकार’ ‘समान नागरिक’ताको सिद्धान्तसँग असङ्गत रहेको संकेत गर्छन् ।
कोपरको आलोचना केवल राजनीतिक मात्र होइन, नैतिक पनि हो । जन्मको आधारमा कसैलाई अधिकार दिनु उचित हो कि होइन भन्ने उनको जड प्रश्न हो । यो ‘इनलाटनमेन्ट’युगकालीन तर्कसँग जोडिन्छ, जसले वैधताको आधार कारण तर्कसङ्गत हुनुपर्छ भन्ने धारणा अघि सारेको थियो ।
त्यस्तै ‘द इङ्लिस मोनार्की एण्ड अमेरिकन मोनार्की’ले दुई संवैधानिक परम्पराहरूको तुलना गर्छ । यसमा राजतन्त्रलाई निरन्तरता र परम्परामा आधारित प्रणालीका रूपमा र गणतन्त्रलाई जनसहमति र नागरिक समानतामा आधारित प्रणालीका रूपमा चित्रण गरिएको छ । अमेरिकी क्रान्तिलाई वंशाणुगत सार्वभौमिकताको अस्वीकार र स्वशासनको स्वीकारका रूपमा व्याख्या गरिएको छ ।
राजतन्त्रमाथि यी सबै आलोचनाहरूले मिलेर यस्तो बौद्धिक वातावरण सिर्जना गरे, जहाँ राजतन्त्रलाई अब प्राकृतिक वा अपरिहार्य शासन प्रणाली मानिएन, बरु धेरै विकल्पमध्ये एउटा विकल्पका रूपमा हेरिन थालियो ।
- बेजहट र संवैधानिक राजतन्त्रको अस्तित्व
तर निरङ्कुश राजतन्त्रको पतनसँगै राजतन्त्र पूर्ण रूपमा समाप्त भएन । वाल्टर बेजहटको ‘द मोनार्की’ ले यसलाई अझ सूक्ष्म रूपमा व्याख्या गर्छ । उनले संविधानका दुई भाग छुट्टाउँछन् एक ‘सम्मानित’ र अर्को ‘कार्यकारी’ । उनका अनुसार राजतन्त्र ‘सम्मानित’ भाग हो, जसले निरन्तरता, राष्ट्रिय पहिचान र ऐतिहासिक वैधताको प्रतीक दिन्छ; जबकि वास्तविक राजनीतिक शक्ति संसदीय संस्थाहरूमा केन्द्रित हुन्छ ।
यो भिन्नताले किन केही आधुनिक लोकतन्त्रहरूमा राजतन्त्र कायम रह्यो भन्ने कुरा स्पष्ट गर्छ । राजतन्त्र शासन गर्ने शक्ति होइन, बरु प्रतीकात्मक संस्था बनेर लोकतन्त्रसँग सहअस्तित्वमा रहन्छ ।
तर बेजहटको विश्लेषणले पनि एउटा गहिरो परिवर्तन भने स्वीकार गर्छ । त्यो हो, आधुनिक संवैधानिक प्रणालीहरूमा वास्तविक सार्वभौमिक शक्ति राजामा रहँदैन । राजा शासन गर्दैन, केवल शासनको प्रतीक हुन्छ । सार्वभौमिकता अन्ततः जनतामा सरेको हुन्छ ।
बेजहटको विश्लेषणले राजतन्त्र प्रायः शासन प्रणालीका रूपमा होइन, प्रतीकका रूपमा बाँचिरहन्छ भन्ने देखाउँछ । गणतन्त्रले पनि पुराना प्रतीकात्मक कार्यहरू नयाँ संस्थाहरूमा स्थानान्तरण गर्छ । राष्ट्रध्वजा, राष्ट्रपति कार्यालय, संवैधानिक समारोहहरू जस्ता सबै बिम्बले पुराना राजतन्त्रात्मक प्रतीकहरूको नयाँ रूप प्रतिनिधित्व गर्छन् । त्यसैले राजनीतिक प्रतीकहरू समाप्त हुँदैनन्, पुनः व्याख्या हुन्छन् ।
- तार्किक रूपान्तरण र गणतान्त्रिक कल्पनाको जन्म
यस सम्पूर्ण रूपान्तरणको केन्द्रमा इनलाइटनमेन्ट युग छ । इनलाइटनमेन्ट कालिन विचारकहरूले एउटा क्रान्तिकारी धारणा अघि सारे । त्यो हो, राजनीतिक अधिकार तर्क, सहमति र मानव समानतामा आधारित हुनुपर्छ । यसले ‘दैवी अधिकार’को सिद्धान्तलाई चुनौती दियो, जसले राजतन्त्रलाई लामो समयसम्म वैधता दिएको थियो ।
इनलाइटनमेन्टले गणतन्त्रको एउटै मोडेल दिएन, तर केही आधारभूत सिद्धान्तहरू स्थापित गर्यो । जस अनुसार, सार्वभौमिकता जनतामा निहित हुन्छ, सरकारको वैधता जनसहमति हो, कानुन तर्कसङ्गत र सार्वभौमिक हुनुपर्छ अनि नागरिक समानता अपरिहार्य हुन्छ ।
यी विचारहरूले अमेरिका, फ्रान्स र पछि विश्वभरका क्रान्तिहरूको वैचारिक आधार तयार गरे । तर प्रारम्भिक गणतन्त्रहरूमा ठुलो विरोधाभास पनि थियो । त्यहाँ समानताको वाचा गरिए पनि धेरै समूहहरू बहिष्कृत थिए । यही कारणले आधुनिक गणतन्त्रहरूलाई ‘अधूरो’ भनिन्छ । हामी पनि ठ्याक्कै अहिले यही अधूरो गणतन्त्रमा छौँ ।
गणतन्त्रहरू: अधूरा राजनीतिक परियोजना
आधुनिक गणतन्त्रहरूलाई प्रायः लोकतान्त्रिक विकासको अन्तिम चरणको रूपमा लिइन्छ । तर वास्तविकता जटिल छ । निर्वाचन, संविधान र प्रतिनिधिमूलक संस्थाहरूले मात्र समानता सुनिश्चित गर्दैनन् ।
सेन इरभिङको ‘अधूरा गणतन्त्र’ अवधारणाले यही तनावलाई खोतलेको छ । गणतन्त्रले राजतन्त्र हटाउन सक्छ, तर असमानता, शक्ति केन्द्रीकरण र अभिजात प्रभुत्व स्वचालित रूपमा हट्दैन । धेरै अवस्थामा शक्ति आर्थिक वा राजनीतिक अभिजात वर्गमा केन्द्रित रहन्छ । यस अर्थमा अहिले गणतन्त्रतर्फको यात्रा पूर्ण भएको चरण होइन, बरु निरन्तर लोकतान्त्रीकीरणको प्रक्रियाको चरण हो ।
नेपालः राजतन्त्रबाट गणतन्त्रतर्फ
नेपाल यस वैश्विक राजतन्त्रदेखि गणतन्त्र सम्मको वैश्विक परिवर्तनको एक महत्त्वपूर्ण उदाहरण हो । सन् २००८ मा नेपालले संवैधानिक राजतन्त्रबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रतर्फको ऐतिहासिक यात्रा पूरा गर्यो । आधुनिक नेपालको ठुलो हिस्सा राजतन्त्रात्मक संरचनामा आधारित थियो, जहाँ परम्परा र आधुनिक राज्य प्रणाली सँगसँगै अस्तित्वमा थिए ।
राजतन्त्रलाई राष्ट्रिय एकताको प्रतीकका रूपमा प्रस्तुत गरिन्थ्यो । तर राजनीतिक बहिष्कार, सामाजिक असमानता र शक्ति केन्द्रीकरणका कारण बहुसङ्ख्यक जनता अलगीकरणमा पारिए र असन्तोष बढ्दै गयो ।
विसं २०४७ को जनआन्दोलनले संवैधानिक राजतन्त्र र बहुदलीय लोकतन्त्र स्थापना गर्यो । तर द्वन्द्व समाप्त भएन । ०५० को दशकमा सुरु भएको माओवादी सशस्त्र सङ्घर्षले राजतन्त्र अन्त्यको मागलाई तीव्र बनायो । २०६२/०६३ को दोस्रो जनआन्दोलन निर्णायक मोड बन्यो । विशाल जनप्रदर्शन र राजनीतिक सहमतिले राजतन्त्रको अधिकार निलम्बन गर्यो । २०६५ मा नेपाल औपचारिक रूपमा गणतन्त्र घोषणा गरियो ।
इनलाइटनमेन्टकालीन दृष्टिकोणबाट हेर्दा नेपालमा गणतन्त्रको स्थापना पश्चिमी युरोपमा जन्मिएका विचारहरूको ढिलो तर शक्तिशाली विस्तार हो । सार्वभौमिकता, समानता र समावेशिताका अवधारणाले हेर्ने हो भने यो निक्कै नै प्रभावशाली उपलब्धि हो ।
यद्यपि, नेपालमा पनि गणतन्त्र ‘अधूरो’ नै देखिन्छ । राजनीतिक अस्थिरता, संस्थागत कमजोरी र सामाजिक–आर्थिक असमानताले अझै ठुलो चुनौती प्रस्तुत गरिरहेका छन् भने गणतन्त्र निम्तिएको १८ वर्षपछि भर्खरै ठुलो आन्दोलन र निर्वाचन पश्चात् नयाँ सरकार बनेको छ । अझै पनि मुलुक र गणतन्त्रको भविष्यमाथिको अन्यौलता कायमै छ ।
- इनलाइटनमेन्टको विरासत र आधुनिक गणतन्त्र
इनलाइटनमेन्ट विचारधारा आधुनिक गणतन्त्रवादको केन्द्रमा रहन्छ । तर्क, व्यक्तिगत अधिकार र समानताको सिद्धान्तले आज पनि संवैधानिक लोकतन्त्रहरूलाई आकार दिइरहेको छ ।
तर यसको प्रभाव एकरूप भने छैन । युरोप र अमेरिकामा यसले क्रान्तिहरू जन्मायो, जबकि एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा यसलाई उपनिवेशवाद र स्वतन्त्रता आन्दोलनमार्फत ग्रहण गरियो ।
नेपालको गणतान्त्रिक यात्रा पनि यसै वैश्विक आयामको एउटा हिस्सा हो, तर स्थानीय राजनीति, संस्कृति र सामाजिक आन्दोलनले यसको विशेष स्वरूप निर्धारण गरेको छ ।
तसर्थ, राजतन्त्रबाट गणतन्त्रतर्फको वैश्विक यात्रा न त क्रमबद्ध छ, न त पूर्ण नै । यो विचारधारात्मक सङ्घर्ष, संस्थागत रूपान्तरण र सार्वभौमिकताको अर्थबारे निरन्तर बहसको इतिहास हो । कोपरको आलोचना, बेजहटको संवैधानिक विश्लेषण र तुलनात्मक राजनीतिक विचारहरूले एउटै कुरा दोहोर्याउँछन् । त्यो हो, राजनीतिक वैधता निगाह या जन्मजातका आधारमा होइन, तथ्य तथा तार्किक आधामा हुनुपर्छ, जनअनुमोदनमा निर्भर हुनुपर्छ ।
खासमा, नेपालको उदाहरणले यो रूपान्तरणका सम्भावना र सीमाहरू दुवै देखाउँछ । यसले गणतन्त्रको शक्ति देखाउँछ, तर यसको अपूर्णता पनि उजागर गर्छ । गणतन्त्रको यो परिवर्तन केवल संस्थागत परिवर्तन होइन, यो इनलाइटनमेन्टले सुरु गरेको गहिरो दार्शनिक रूपान्तरण हो । शक्ति जन्म, परम्परा वा दैवी आदेशबाट होइन, जनताबाट आउँछ भन्ने विश्वास हो । अनि, गणतन्त्र अझै पनि अधूरो छ । र, यो अधूरोपन नै यसको निरन्तर विकासको आधार हो ।
- गणतन्त्रका लागि विश्वमा भएका प्रमुख आन्दोलन, युद्ध र संघर्षहरू
गणतन्त्र ‘सत्ताको स्रोत जनता हुनुपर्छ कि राजा/वंश ?’ भन्ने प्रश्नसँग गरेको लामो सङ्घर्षको उपज हो । विश्वका विभिन्न महादेशहरूमा राजतन्त्रविरुद्ध भएका आन्दोलन, क्रान्ति र युद्धहरूले नै आधुनिक लोकतान्त्रिक गणतन्त्रहरूको आधार तयार पारेका हुन् ।
गणतन्त्रको आधुनिक इतिहासमा सबैभन्दा महत्त्वपूर्ण घटना मध्ये एक अमेरिकी स्वतन्त्रता युद्ध हो । बेलायती उपनिवेश शासनविरुद्ध १३ उपनिवेशहरूले विद्रोह गर्दै स्वतन्त्र राज्य घोषणा गरे । ‘प्रतिनिधित्व बिना कर होइन’ भन्ने नाराले यो आन्दोलनलाई वैचारिक आधार दियो । फलतः, सन् १७७६ मा स्वतन्त्रताको घोषणा जारी गर्दै संयुक्त राज्य अमेरिका स्थापना भयो, जुन आधुनिक विश्वको पहिलो ठुलो गणतान्त्रिक प्रयोग मानिन्छ जसले ‘जनताको सार्वभौमिकता’को सिद्धान्तलाई व्यवहारमा उतारेको थियो ।
गणतन्त्रको विचारलाई विश्वव्यापी बनाउने सबैभन्दा प्रभावशाली घटना फ्रान्सेली क्रान्ति हो । राजतन्त्र, विशेष गरी लुई सोह्रौँको निरङ्कुश शासन र सामाजिक असमानताविरुद्ध जनताले विद्रोह गरे ।
१७८९ मा बास्तिल जेलको पतनपछि ‘स्वतन्त्रता, समानता र भ्रातृत्व’को नारा स्थापित भयो । १७९२ मा फ्रान्सलाई औपचारिक रूपमा गणतन्त्र घोषणा गरियो । यस क्रान्तिले युरोपभर राजतन्त्रविरुद्ध राजनीतिक चेतना फैलायो ।
त्यसो त हाइटी क्रान्ति (१७९१/१८०४) विश्वको सबैभन्दा ऐतिहासिक र कम चर्चा गरिएको पुरानो गणतान्त्रिक आन्दोलन हो । दासत्वमा परेका अफ्रिकी मूलका मानिसहरूले फ्रान्सेली उपनिवेश शासनविरुद्ध विद्रोह गरे । सन् १८०४ मा हाइटीले स्वतन्त्र गणतन्त्र घोषणा गर्यो र यो पहिलो अश्वेत नेतृत्वमा स्थापित गणतन्त्र बन्यो । यसले दासत्व र उपनिवेशवादविरुद्ध विश्वव्यापी सन्देश दियो ।
त्यस्तै, १८४८ को ‘वसन्त क्रान्ति’ युरोपका धेरै देशहरूमा फैलिएको गणतान्त्रिक आन्दोलनहरूको श्रृंखला थियो। फ्रान्स, जर्मनी, इटाली, अस्ट्रिया र हंगेरीमा जनताले राजतन्त्र र निरङ्कुश शासनविरुद्ध विद्रोह गरे । यद्यपि धेरै आन्दोलन तत्काल सफल भएनन्, यसले युरोपमा संवैधानिक सुधार, नागरिक अधिकार र गणतान्त्रिक विचारलाई भने बलियो बनायो ।
मेक्सिकन क्रान्ति (१९१०/९२०) लामो समयसम्म चलेको सामाजिक तथा राजनीतिक सङ्घर्ष थियो जसले पोर्फिरियो डियाजको निरङ्कुश शासन अन्त्य गर्यो । यस क्रान्तिले भूमि सुधार, सामाजिक न्याय र लोकतान्त्रिक शासनको मागलाई अगाडि बढायो । अन्ततः आधुनिक मेक्सिको एक गणतन्त्रात्मक राज्यका रूपमा पुनर्गठित भयो ।
१९१७ को रुसी क्रान्तिले जार शासनको अन्त्य गर्यो । बोल्सेभिक क्रान्ति पछि सोभियत संघको स्थापना भयो, जसले परम्परागत राजतन्त्रलाई समाप्त गर्यो । यद्यपि यो पूर्ण उदार लोकतान्त्रिक गणतन्त्र थिएन, यसले वंशाणुगत राजतन्त्रको अन्त्य गर्दै नयाँ प्रकारको राज्य संरचना निर्माण गर्यो र विश्व राजनीति परिवर्तन गर्यो ।
सन् १९११ को सिन्हाई क्रान्तिले चीनको हजारौँ वर्ष पुरानो राजतन्त्र अन्त्य गर्यो । सन यात–सेनको नेतृत्वमा गणतन्त्र चीन स्थापना भयो । यसले एसियामा राजतन्त्रविरुद्धको पहिलो ठुलो सफल गणतान्त्रिक परिवर्तनको प्रतिनिधित्व गर्यो । भारतमा गणतन्त्र स्थापना १९४७ मा । तर यसको आधार लामो औपनिवेशिक विरोधी सङ्घर्ष थियो । ब्रिटिस उपनिवेशविरुद्धको आन्दोलनले अन्ततः भारतलाई स्वतन्त्र बनायो । १९५० मा भारतले संविधान अपनाउँदै गणतन्त्र घोषणा गर्यो, जसले विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो ।
नेपालमा गणतन्त्रको यात्रा चरणबद्ध रूपमा विकसित भयो । २०४७ को जनआन्दोलनले संवैधानिक राजतन्त्र स्थापना गर्यो । तर २०५२ मा सुरु भएको माओवादी जनयुद्धले राज्य संरचनामै परिवर्तनको माग उठायो । २०६२/०६३ को दोस्रो जनआन्दोलन निर्णायक मोड बन्यो, जसले राजतन्त्रको शक्ति अन्त्य गर्यो । २०६५ मा नेपाल औपचारिक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषित भयो ।
मध्यपूर्व र उत्तर अफ्रिकामा फैलिएको अरब स्प्रिङ (२०१०/२०१२) आन्दोलनले ट्युनिसिया, इजिप्ट, लिबिया लगायतका देशहरूमा निरङ्कुश शासनविरुद्ध विद्रोह गरायो ।
यी सबै आन्दोलन, क्रान्ति र युद्धहरूले एउटै ऐतिहासिक सत्य देखाएका छन् । राजनीतिक शक्ति सधैँ स्थायी रूपमा राजाहरू वा वंशहरूमा सीमित रहँदैन । जनताको चेतना, सङ्घर्ष र बलिदानले राज्य संरचना परिवर्तन गर्न सक्छ । गणतन्त्र केवल संस्थागत व्यवस्था होइन, यो निरन्तर सङ्घर्षको परिणाम हो । अमेरिकी क्रान्तिदेखि नेपालसम्मका आन्दोलनहरूले देखाउँछन् कि गणतन्त्र कुनै अन्तिम अवस्था होइन, बरु जनताको अधिकार, समानता र न्यायका लागि निरन्तर चलिरहने ऐतिहासिक प्रक्रिया हो ।




