दिपक कुशवाहा वीरगज १ भादो / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेशस्तरीय निर्वाचन प्रक्रिया स्थगित भएको समाचार प्राप्त भएको छ । निर्वाचन स्थगित भएपछि नेता तथा कार्यकर्तामा निराशा छाएको छ । निर्धारित कार्यतालिका अनुसार मधेश प्रदेशमा जेठ २८ गतेभित्र जिल्ला अधिवेशन सम्पन्न गरी प्रदेश निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने थिया े। तर मधेशका ८ जिल्लामध्ये हालसम्म पर्सा जिल्लाको मात्र अधिवेशन सम्पन्न भएको छ भने बाँकी ७ जिल्लामा विवादको कारण अबिधेवशन रोकिएको छ । रास्वपाका केन्द्रीय सदस्य डा. नन्दन यादवका अनुसार पार्टी विधान अनुसार प्रदेश निर्वाचनका लागि कम्तीमा तीन जिल्लाको अधिवेशन सम्पन्न हुन आवश्यक हुन्छ । तर मधेशका आठ जिल्लामध्ये एउटा जिल्लाको मात्र अधिवेशन सम्पन्न भएकाले तत्कालका लागि प्रदेश निर्वाचन प्रक्रिया स्थगित गरिएको उनले जानकारी दिए ।
पार्टी विधानले तोकेको मापदण्ड पूरा नभएकाले हाललाई निर्वाचन प्रक्रिया रोकिएको हो, डा. यादवले बताए ।
यसैबीच, रास्वपाभित्र बढ्दै गएको गुटबन्दीप्रति नेता तथा कार्यकर्ताले असन्तुष्टि व्यक्त गर्न थालेका छन् । एक नेताका अनुसार पार्टी अहिले आन्तरिक समूहगत विवादको चपेटामा परेको छ । पुराना राजनीतिक दलबाट आएका केही नेताहरूले नयाँ राजनीतिक संस्कारभन्दा पुरानै शैलीलाई निरन्तरता दिन खोजेको आरोप लगेको छ ।
नयाँ विकल्पको रूपमा उदाएको पार्टीमा पुरानै शैली प्रभाव जमाउने प्रवृत्ति र गुटगत गतिविधि बढ्दै गएको छ,।
विभिन्न जिल्लामा भएका अधिवेशनका क्रममा सामाजिक सञ्जालमा सार्वजनिक भएका गतिविधिले पनि पार्टीभित्रको मतभिन्नता स्पष्ट देखिएको नेताहरूको भनाइ छ । केही जिल्लामा नेतृत्व चयनका क्रममा देखिएको विवादले कार्यकर्तामा अन्योल बढाएको उनीहरूको दाबी छ ।
रास्वपामा प्रवेश गरेका केही व्यक्तिहरूले पद र प्रभावका लागि पार्टी भित्र वर्चस्व कायम गर्न खोजिरहेको स्रोतले बताएका छन ।
स्रोतका अनुसार पार्टीभित्र आफ्नो पकड बलियो बनाउने उद्देश्यसहित केही समूह आठै जिल्लामा सक्रिय छन ्।
तर पार्टी नेतृत्व भने विधान र सिद्धान्तविपरीत काम गर्ने कुनै पनि व्यक्तिलाई छुट नदिने पक्षमा रहेको बताइएको छ । पार्टी स्रोतका अनुसार संगठनलाई कमजोर बनाउने गतिविधिमा संलग्न भए साधारण सदस्यतासमेत खारेज गर्ने तयारी रहेको छ।
मधेश प्रदेशमा रोकिएको निर्वाचन प्रक्रिया कहिले पुनः सुरु हुन्छ भन्ने विषयमा भने पार्टीले नयाँ मिति सार्वजनिक गरेको छैन।





