बिरगंज दिपक कुशवाहा/वीरगंज भन्सारस्थित सशस्त्र प्रहरीले वीरगंज बसपार्कका एकजना पसलेको एक लाख भारु फिर्ता नगरी दुःख दिएको व्यापारीले गुनासो गरेका छन् ।
यही कात्तिक ४ गते वीरगंज बसपार्कमा रहेको सन्तोष गुप्ताको पसलमा सशस्त्र प्रहरीले छापामारी गरेको थियो। भन्सार छलीका सामानहरू सो पसलमा भण्डारण भएको सूचनाको आधारमा छापामारी गरिएकोमा प्याज र चिनी बरामद भएको थियो । पसलेले खुद्रा व्यापारीहरूले बसपार्कबाट अन्यत्र लैजान आफ्नो पसलमा सामान राखेको बताएका थिए । छापामारीको क्रममा सशस्त्र प्रहरीले पसलमा रहेको नेरु चार लाख ६५ हजार र भारु एक लाख नियन्त्रणमा लिएको थियो ।पसले गुप्ताले चार लाख ६५ हजार जग्गा बिक्रीको लागि बैनाको रकम रहेको दाबी गरेपछि फिर्ता गरिएको थियो । पाँच लाख बैना लिएको, ५० हजार बिचौलियाले कमिशन बुझेको र १५ हजार
आफूसँग खर्च भएपछि चार लाख ६५ हजार रकम पसलमा राखेको प्रमाण दिएपछि सो रकम फिर्ता गरिएको थियो । त्यसैगरी भारतको रक्सौलमा सामान खरीदको लागि जानुपर्ने हुँदा पसलमा बिक्री भएको भारु रकम जम्मा गरेको उनले बताएपछि सो रकम फिर्ता गर्ने सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालले आश्वासन दिएका थिए । पसलमा माधव भन्ने सशस्त्र प्रहरी सहायक निरीक्षकले छापामारी गरी रकम नियन्त्रणमा लिएका थिए । सो रकम आज भोलि भनेर अहिलेसम्म फिर्ता नगरिएको तर फिर्ता गर्ने आश्वासन दिएको पसले गुप्ताले बताए । घटना सम्बन्धमा सशस्त्र प्रसनि माधवले सशस्त्र प्रनाउ रिजालसँग बुझ्न प्रतिक्रिया दिए ।
सशस्त्र प्रनाउ रिजालले आफू वीरगंजबाहिर रहेको र आएपछि फिर्ता गर्ने बताए। पसलेले भने अहिलेसम्म यसै प्रकारले दुई साता बढी समयदेखि झुलाउने काम भइरहेको र यसबारे माथिल्लो तहसम्म कुरा राखेको बताए ।